रेसुङ्गा नगरपालिका,गुल्मीको संक्षिप्त परिचय

परिचय

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । यस्तो विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने अभिप्रायले जिल्लाको पहिलो नगरपालिका घोषणा हुनु हामी सबै गुल्मेलीहरूका लागि खुसीको कुरा हो ।

            गुल्मी जिल्लाको सदरमुकाम तम्घासलाई नगरपालिका बनाउनु पर्छ भन्ने चर्चा परिचर्चा बिगत लामो समयदेखि चल्दै आए पनि नेपाल सरकारले २०६८ सालको बजेट बक्तव्य मार्फत २०६८ श्रावण १ गते देखि तम्घास नगरपालिका घोषणा ग¥यो यद्यपि नेपाल सरकारले यसलाई कार्यान्वयनमा ल्याएन । समयको गतिसँगै साविकका तम्घास गा.वि.स.सँग जोडिएका छिमेकी अर्खले, सिमीचौर र दुवीचौर गा.वि.स.हरूले समेत नगरपालिकामा आवद्ध हुने इच्छा जाहेर गरेपछि विभिन्न समयमा भएका छलफल र गृहकार्य पछि यस जिल्लाको नगरपालिका सिफारिस समितिले २०६८ श्रावण ३० गते चारवटै गा.वि.स.हरूलाई समेटेर नगरपालिका बनाउन र उक्त नगरपालिकाको नाम ‘रेसुङ्गा नगरपालिका’ राख्न सिफारिस गरेको थियो । सोहि अनुरुप नेपाल सरकारको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो । घोषणा पछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुरुप जिल्लास्थित क्रियाशील राजनीतिक दल, प्रशासनिक निकाय, नागरिक समाज, संघ–सस्था, सम्बद्घ क्षेत्रका कर्मचारीहरू तथा अन्य नागरिकहरूको उपस्थितिमा २०७१ जेठ १ गतेदेखि साविक तम्घास गा.वि.स.को कार्यालय अतिथि भवन (भूतबंगला) मा रेसुङ्गा नगरपालिका कार्यालयको विधिवत् उद्घाटन भई कार्य सञ्चालनमा आएको थियो । त्यस पछि पुर्नसंरचना आयोगको सिफारिसमा साविकको पराल्मी गा.वि.स. लाई समेत समेटेर १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते  राजपत्रमा प्रकाशित  भएपछि रेसुङ्गा नगरपालिका बनेको छ ।

नगरपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

क) अक्षांश :– २७⁰ ५९’ देखि २८⁰ ७’ सम्म उत्तरी अक्षांश 

ख) देशान्तर :– ८३⁰ १२’ देखि ८३⁰ १९’ सम्म पूर्वी देशान्तर

ग) क्षेत्रफल :– ८३.७४ वर्ग कि. मि.

घ) सिमाना :– पूर्व – गुल्मीदरवार गाउँपालिका, पश्चिम – अर्घाखाँची जिल्ला    उत्तर – इश्मा गाउँपालिका/ मुसिकोट नगरपालिका,   दक्षिण – अर्घाखाँची जिल्ला   

प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल

            रेसुङ्गा नगरपालिका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रेसुङ्गा, अर्जुन छन् । यहाँ प्रसिद्ध नदीहरू बडीघाट, छल्दी, पनाह खोलाहरू रहेका छन् ।